स्वर्गतुल्य बडीमालिका : जहाँ साैन्दर्यताले मन छुन्छ,धार्मिक आस्थाले आत्मा

गोविन्द्र राज तिमिल्सेना,बाजुरा: हिमालकाे काखमा फैलिएकाे हरियाली दृश्य।खुला आकाश,बादलमाथीकाे नयाँ संसार।चिसाे हावा र आँखै अगाडी देखिने विशाल फाँटहरु।प्रकृतिले दिएकाे अनुपम उपहार।धर्तिकाे स्वर्ग अर्थात् भू-स्वर्ग।जाे निकै अद्भुत छ।अकल्पनीय छ।सुन्दर,मनमाेहक र बेजाेड छ।

 

प्रकृतिले काेरेकाे सुन्दर तस्वीर।निकै चाखलाग्दो र आकर्षक।सात महिना हिउँकाे घुम्टाे,पाँच महिना हरियाली र कुहिराेकाे घुम्टाे।अनेकौं प्रजातीका फूल र जडीबुटीले मन्त्रमुग्ध बनाएकाे धार्मिक तथा पर्यटकीय आस्थाकाे धराेहर हाे,बडीमालिका।जहाँ प्राकृतिक साैन्दर्यले मन र धार्मिक आस्थाले आत्मा छुने गर्छ।

 

समुन्द्री सतहदेखी ४ हजार २ सय बढि मिटरकाे उचाई।सुन्दर र विशाल फाँटहरुकाे शहर।पहाड भित्र लुकेकाे प्रकृतिकाे अनाैठाे अर्काे संसार।प्राकृतिक सुन्दरता र नाैरङ्गे साडीमा उनिएकी अप्सरा जस्तैः।धार्मिक आस्था र सुन्दरतामा अडेकाे भूमी।धर्तिमै पनि स्वर्ग छ।साँच्चिकै स्वर्ग भनेकाे यहिँ हाे। लाग्छ,‘स्वर्ग कहिँ छ भने यहिँ छ’।

 

बाजुरा जिल्लाकाे त्रिवेणी नगरपालिकामा पर्ने धर्तिकाे भू-स्वर्ग बडीमालिका जति प्राकृतिक सुन्दरताले सुरम्य छ। त्यति नै धार्मिक आस्थाले सुपरिचित छ।जहाँ साैन्दर्यता र धार्मिक आस्था,प्रकृतिकाे सुन्दर काखमा लडिबुडी बाँचेकाे छ।सुन्दर हरियाली फाँटमा चर्दै गरेका घाेडा र भेडाकाे बथानले त्यस वरपरकाे वातावरण झनै रमाइलो बन्छ।

 

अद्धितिय र अलाैलिक गुण बाेकेकाे बडीमालिकामा बर्षेनी हजारौं आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्ने गरेका छन्।सिरसिरे हावा,अत्याधिक चिसाे र सुन्दरताकाे भने कुनै कमी छैन्।बर्षातकाे समयमा हरियालीकाे चाेलीमा सजिने याे ठाउँ दर्शनार्थीहरुका लागी स्वर्गतुल्य बन्छ। कुहिराेकाे घुम्टाेमा लुकेर मुसुक्क मुस्कुराउँदेे पर्यटकलाई बडीमालिका र त्यस वरपरकाे क्षेत्र बाेलाईरहेकाे हुन्छ।

 

त्याे मुस्कानमा हाँसाेकाे कुनै कमी देखिन्न,जसले त्यहाँ जाने पर्यटकलाई उत्साह र उमङ्ग थप्छ।बडीमालिका एक यस्तो धार्मिक तथा पर्यटकीय क्षेत्र हाे,जहाँ नयाँ संसारकाे स्वर्गीय  आनन्द र अनुभूति मिल्छ।जसले जीवनका हरेक समस्या,दु:ख,कष्ट र अभावलाई भुलाई छुट्टै शक्ति र साहस प्रदान गर्छ।त्यही हाे,पहाड भित्रकाे नयाँ संसार,प्रकृतिकाे अमूल्य वरदान बडीमालिका।

 

‘जहाँ पुग्दा आँखाले प्रकृतिकाे साैन्दर्य देख्छ,मनले शान्ति महसुस गर्छ र आत्माले आस्थाकाे स्पर्श पाउँछ’।यहाँ पुग्ने जाेकाेहीलाई एकातिर प्रकृतिकाे अनुपम साैन्दर्यले लाेभ्याउँछ भने अर्काेतिर धार्मिक आस्था र श्रद्धाले शिर झुकाउँन बाध्य बनाउँछ।त्याे केवल एउटा धार्मिक तिर्थस्थल मात्र हाेईन्,हिमाली प्रकृतिकाे एउटा खुला संग्रहालय हाे।जहाँ अनेकौं चिजहरु देख्न देखिन्छन्।भने अनुभव र अनुभूती ग्रहण गर्न समेत पाईन्छ।

 

विशेषगरी हरेक बर्षकाे जनैपूर्णिमाकाे अवसरमा लाग्ने मेला निकै महत्त्वपूर्ण मानिन्छ।देशका विभिन्न ठाउँबाट भक्तजनहरु कठिन  पहाडी यात्रा  पार गर्दै दर्शनकाे लागी पुग्ने गर्छन्। श्रद्धालुभक्तजनहरुका लागी याे यात्रा केवल गन्तव्यसम्म पुग्ने यात्रा मात्र नभई,आस्था,विश्वास र आत्मिक अनुभूतिकाे माध्यम समेत बन्ने गर्छ।भक्तजनहरु यहाँ पुगेर पूजा-आराधना गर्ने, मनाेकांक्षा पूरा हुने विश्वास राख्ने र देवीकाे दर्शनबाट शक्ति र मागेकाे वर प्राप्त हुने विश्वास गर्छन्।

 

तिर्थालु भक्तजनकाे आकर्षण बढ्दाे:

 

पछिल्लो समय बडीमालिकामा तिर्थालुभक्तजनहरुकाे आकर्षण बढ्दै गएकाे छ। हजारौं संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु बडीमालिकाकाे दर्शनकाे लागी आउँने गरेका छन्।यहाँबाट देखिने विशाल हिमाली दृश्य,मनमाेहक पाटन र आसपासका प्राकृतिक सम्पदाले प्रकृतिप्रेमी र साहसिक यात्राका पारखीलाई बडीमालिकाले आकर्षित गर्दै आएकाे छ।

 

विशेषगरी जनैपूर्णिमाकाे अवसरमा बडीमालिका मन्दिरमा पूजा-आराधना तथा दर्शन गर्ने देशका विभिन्न जिल्ला र छिमेकी देश भारतबाट ठुलाे संख्यामा भक्तजन पुग्ने गरेका छन्।कठिन भाैगाेलिक यात्राका बिच पनि धार्मिक विश्वासका साथ भक्तजनहरु यहाँ पुग्ने गर्छन्।यहाँ पुग्ने भक्तजनले बडीमालिका माताकाे दर्शन पाउँछन्।

 

चुनावी अभियानका क्रममा: वर्तमान नेपाल सरकारका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले धनगढीमा आयोजित एक कार्यक्रममा बडीमालिकालाई  ‘स्वीजरल्याण्डको बाउ’ भनेर सम्बाेधन गरे पश्चात् झनै चर्चामा आएकाे हाे।त्यसयता देश तथा विदेशबाट हजारौंकाे संख्यामा पर्यटकहरु बडीमालिका पुगेका छन्।बालेन शाहकाे सानाे सम्बाेधनले बडीमालिका अहिले विश्वभर चर्चाकाे शिखरमा छ ।

कठिन यात्राका विच बडीमालिकाकाे दर्शनले मनाेकांक्षा पूरा हुनुका साथै आनन्द र आत्मिक अनुभूति प्राप्त हुने विश्वासका साथ सुन्दरताकाे खानी,धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाकाे दर्शनमा आएकाे चितवनका दर्शनार्थी नवराज अधिकारीले बताए।उनले बडीमालिकाे व्यापक प्रचार-प्रसार र प्राकृतिक साैन्दर्यताले लाेभ्याएर आफू दर्शनकाे लागी हिडेकाे उनकाे भनाई छ।

 

प्राकृतिक साैन्दर्य र धार्मिक आस्थाकाे अद्भुत मेलले बडीमालिकालाई बाजुराकाे मात्र नभई सुदूरपश्चिम र सिंगाे देशकै पर्यटकीय र धार्मिक गन्तव्यकाे रुपमा स्थापित गर्न महत्त्वपूर्ण सहयाेग पुर्याएकाे छ।करिब दुई तीन बर्षकाे आफ्नो  ‘बडीमालिका यात्रा’ याेजनालाई  सफल बनाउन बडीमालिकाकाे दर्शनमा आएकाे काठमाडौँका दर्शनार्थी निरञ्जन शिलवाल बताउँछन्।

 

उनी भन्छन्,‘ मनसुनकाे समयमा समेत यात्रा त्यति कठिन छैन्।नयाँ ठाउँ,नयाँ गन्तव्य,सुदूरकाे स्वर्गमा आउँदा निकै खुसी लागेकाे छ। दुई तीन बर्षकाे बडीमालिका घुम्ने याेजना याे बर्ष पूरा गर्ने गरि यात्रामा निस्किएका हाैँ।धार्मिक तथा पर्यटकीय क्षेत्रसंग सामिप्यता र मनका अनगिन्ती रहरहरु मेटिने छन्,भन्नेमा विश्वस्त छु।बडीमालिका माताले सबैले कल्याण गरुन्,जय बडीमालिका।’

 

धार्मिक महिमा: प्रकृति मुस्कुराउँछ,आस्था झल्किन्छ:

 

दुगर्म भाैगाेलिक अवस्था,कठिन पदमार्ग र माैसममा हुने अचानक परिवर्तनले यात्रा निकै कष्टकर बन्ने गर्छ।यहाँको पर्यटकीय सम्भावना र धार्मिक आस्थाले मन्त्रमुग्ध बनाएपछि बडीमालिका दर्शनकाे यात्रा तय गरेकाे चितवनका दर्शनार्थी जयराम अधिकारी बताउँछन्।

 

स्वर्गतुल्य बडीमालिकाकाे पावन भूमिमा पाईला टेक्न पाउँनु नै गर्वकाे कुरा रहेकाे उनकाे भनाई छ।स्थानीय सरकारले  आवश्यक भाैतिक पूर्वाधार निर्माण र सडक सञ्जालमा ध्यान दिएकाे खण्डमा पर्यटककाे संख्या बढ्न सक्ने जाेड दिए।नेपाल सरकारले सन् २०२३ देखि २०३३ को अवधिलाई पर्यटन दशक मनाउने घोषणा गरेको छ ।

 

जसमा बाजुरा जिल्लाको बडिमालिका क्षेत्र मात्रै समेटिएको छ।प्रकृतिसंग मुस्कुराउँने र धार्मिक आस्थाले ओतप्रोत  बडीमालिका अनाैठाे प्रकृतिकाे उपहार हाे।प्रकृतिकाे अनुपम साैन्दर्य र धार्मिक आस्थाकाे गहिराे सम्बन्ध बाेकेकाे बडीमालिका साँच्चिकै त्यस्ताे पवित्र भूमि हाे,जहाँ प्रकृति मुस्कुराउँछ र धार्मिक आस्था झल्किने गर्छ।

 

बडीमालिका देवी दक्ष प्रजापतिकी छाेरी श्र‌ृष्टिका स्वामिसंग भएको विवाह पिता दक्ष प्रजाति विपरित भएको हुँदा उनले आफ्नाे यज्ञमा सम्पूर्ण देविदेवता ऋषिहरुलाई आमन्त्रण गरेकाे तर सत्य देवि शिव अर्धाङ्गिनी सृष्टिकर्ता,कैलाशपती महादेवलाई  आमन्त्रण नगरेकाे अपहेलना सहन नसकेर सतिदेविले पिताकाे याेग्य कुण्डमा हाम फालिन्।

 

जसले गर्दा शिवजीकाे क्राेधले शति देविकाे मृत शरीर बाेकेर संसार परिक्रमा गर्ने क्रममा: बाजुराकाे मल्लीका गिरी पर्वत (मालिका) देविकाे बायाँ कुम पतन भयाे।जहाँ,जहाँ अंग पतन भए,त्यहाँ शक्तिपिठ स्थापित भए।मालिकालाई उनकाे अंग पतन हुँदा सति देविकाे शक्तिपिठकाे रुपमा लिईएकाे पाईन्छ। यहाँ हरेक बर्ष जनैपूर्णिमाकाे अवसरमा ठुलाे मेला लाग्ने गर्छ।पूजाकाे लागी बाजुरा,कालिकाेट,डाेटी,अछाम र जुम्लाका सरकारी टाेली जाने गर्छन्।

 

बडीमालिकालाई सति देविकाे रुपमा लिईन्छ। सति देविकाे बायाँ कुम पतन भए पछि यसकाे उत्पति भएको धार्मिक विश्वास छ। याे पर्यटकीय क्षेत्र मात्र नभई धार्मिक हिसाबमा अझै महत्त्वपूर्ण मानिन्छ।सुन्दर हिमाल,मनाेरम प्राकृतिक दृश्य,हरियाली फाँट,उकालाे,ओरालाे मैदान,भेडा,घाेडा,डाँफे,बहुमुल्य जडिबुटी यहाँका गहना हुन्।

 

बडीमालिकामा पूजाकाे लागी डाेटीबाट डाेल,जुम्लाकाे चन्दनाथ मन्दिर र कालिकाेटबाट सरकारी टाेली बाजुरा पुगाई सरकारी टाेली पूजा,बाजागाजा सहित बडीमालिका लैजाने प्रचलन रहिआएकाे छ। नेपाली सेनाले यहाँ प्राचिन स्मारक २०१३ अनुसार,पुरातत्व विभागकाे डिजाइनमा कलात्मक मन्दिर निर्माण समेत गरेकाे छ।

 

बडीमालिकामा अहिले नेपाली सेनाले करिब दुई करोडको लागतमा प्यागोडा शैलीमा बडीमालिका माताको मन्दिर निर्माण गरेको छ ।याे मन्दिर निर्माणका लागी सेनाले भुटानकाे राजदरबार निर्माणमा संलग्न अनुभवी कालिगढ झिकाएकाे थियाे।बडीमालिका माताकाे दर्शनले मागेकाे वर प्राप्त हुने,मनकाे मनाेकांक्षा पूरा हुनुका साथै सन्तान प्राप्ति हुने धार्मिक विश्वास रहेकाे छ।

 

कसरी पुग्न सकिन्छ ??

 

बडीमालिका स्वर्ग भित्रकाे अर्काे नयाँ संसारकाे रुपमा समेत परिचित छ।प्राकृतिक र धार्मिक हिसाबले बडीमालिका धनी भए पनि विकासका हिसाबमा अझै पछि छ।यातायात र अन्य सुविधाको अभावका कारण बडिमालिका यात्रा गर्न निकै असजिलो गन्तव्य हाे।साेता पाटनसम्म सडक भएपनि बर्षातकाे समयमा गाडी चल्न भने असम्भव।

 

धनगढीबाट अछामको साँफेबगर हुँदै जिल्लाको सदरमुकाम मार्तडी सम्म गाडीको सुविधा छ ।त्यहाँबाट पैदलयात्रा मार्फत बडिमालिका पुग्न सकिन्छ ।पैदल यात्रा नगरेर हवाईजहाजबाट जाने हो,भने नेपालगन्जबाट बाजुरा विमानस्थल कोल्टीमा पुग्न सकिन्छ । कोल्टीबाट जिल्ला सदरमुकाम मार्तडी अर्थात् पोरखेगढीबाट दुई तिन दिनको पैदल यात्रा पछि बडिमालिका मालिका पुगिन्छ ।

 

समुन्द्री सतहबाट करिब  ४ हजार २ सय मिटरको उचाईमा रहेकोले अत्याधिक चिसो हुने गर्छ।अहिले ठाउँठाउँमा बास बस्नकाे लागी सुविधा भने प्रयाप्त छ।स्लिपिङ ब्याग, पञ्जा, बाक्ला लुगाहरु र ड्राईफुड सहितको भारी बोकेर हिड्नुपर्ने बाध्यता छ।पर्यटकीय गन्तव्यहरुको धनी सुदूरपश्चिम नेपालको भाषा, कला र संस्कृतिको धनी पर्यटकीय गन्तव्यको खोजी गर्दै स्वदेशी तथा विदेशी पर्यटकहरु बडिमालिका पुग्ने गरेका छन्।

 

सदरमुकामबाट मार्तडीबाट पैदल यात्रा गरेर दुई दिनमा बडिमालिका पुग्न सकिन्छ ।सिमसिमे पानीमा रुझ्दै भिज्दै,नाक सामुन्ने पुग्ने उकालो भिरहरु कटाउँदै बडिमालिकाको यात्रा गर्नुपर्ने हुन्छ। काठमाडौंबाट आउँने पर्यटकहरुले हवाई मार्ग प्रयोग गरी धनगढी झर्न उपयुक्त हुन्छ ।धनगढीबाट ५ घन्टा सडक यात्रापछि डडेल्धुरामा पहिलो दिनको यात्रा पूरा हुन्छ ।

 

त्यस भन्दा पछाडी डडेल्धुराबाट डोटीको दिपायल, सिलगढी, अछामको साँफेबगर, बाजुराको मौरिया हुँदै मार्तडी पुग्न सकिन्छ । यहाँसम्म सडक यातायातको सुविधा रहेको छ। त्यसपछि मार्तडी बाट पदयात्रा सुरु हुन्छ । जिल्ला सदरमुकाम मार्तडी बाट उकालो यात्रा र हिमाली उचाइतिर लागिन्छ । करलीचौरबाट बुढीगंगाको शिर भाग रक्तकुन्ड र दुधकुन्डको संगम त्रिवेणी पुगिन्छ ।३ हजार १३२ मिटरको देउराली छौपाटन, पारिपाटन हुँदै सोतापाटन पुगिन्छ ।

 

सोतापाटन ३ हजार ४०३ मिटरमा रहेको छ ।याे फूलैफूलले ढाकेको पाटन हो । त्यसपछि अझै यात्रा गर्दै अघि बढ्नुपर्छ।केही समयको पैदल यात्रापछि ३ हजार ८ सय ७० मिटर उचाइमा रहेको कालिकोट र बाजुरा जिल्लालाई जोड्ने त्रिवेणी पाटनमा पुगिन्छ ।त्यसपछाडी काला पहाड र बादलको लुकामारी छिचोल्दै यात्रा अगाडि बढ्छ।केहि समयको यात्रा पछि बादल माथीकाे नयाँ संसार स्वर्गको टुक्रा बडिमालिकामा पुग्न सकिन्छ ।

 

बडिमालिका माईको पुजा:

 

बडिमालिका क्षेत्र बाजुरा जिल्लाको मात्रै नभई नेपालको धार्मिक तथा पर्यटकिय क्षेत्र मध्ये एक हो ।यहाँ हरेक बर्ष जनैपूणिर्माकाे अवसरमा ठुलाे मेला लाग्छ।बडिमालिकामा २ वटा पुजारीहरूले पूजा गर्छन्।यी मध्ये १ जना कालिकोटबाट जान्छन् भने अर्को १ जना बाजुराका पूजारी छन्। पुजा अर्चना संगै विहान हवम् शुरु हुन्छ ।

 

जौ, तिल, घ्यू , तेल , विधी विधान र मन्त्रबाट हवम् कुन्डमा होम भई टिका , तिलक , प्रसाद स्वरुप देविलाई चढाई सम्पुर्ण भक्तजन दर्शनार्थीलाई दिइन्छ । देवीको मुल पुजामा पुजारी पैमा निवासी तिमिल्सीना वंसका वा्रहमण बस्छन । र वख्र्याल पुजारी होम कुन्ड तथा त्रिवेणी धाममा बस्दछन् ।बडिमालिका माताको पुजा पछी तिर्थयात्री,नाटेश्वरी फर्कन्छन् र पुजा गर्दछन् ।

डोटी,अछाम,बाजुरा,कालिकोट र जुम्लाका प्रमुख जिल्ला अधिकारी तथा अन्य कर्मचारीहरूको हातबाट देविको सरकारी पूजा सम्पन्न हुन्छ।प्राकृतिक अनुपम सौन्दर्यताले भरिएको शक्ति पीठ बडिमालिका माईको दर्शन गर्नाले मनको इच्छा पूरा हुने विश्वास भक्तजनहरुमा छ।बडिमालिका माईको पुजा आरधनाको लागी देशभरका बिभिन्न जिल्लाहरुमा भक्तजनहरु आउँने गर्छन् ।

 

बिहानै उठेर चिसो पानीले नुहाएर बडिमालका मन्दिरमा प्रस्थान गर्ने गरीन्छ। अनि पुजारीले पुजा लगाउँन सुरु गरीसके पछि मन्दिर परिसरमा भक्तजनहरुको ठुलो भिड लाग्ने गर्छ । बडिमालिका माताको पुजा गरेपछि सबै प्रकारका पाप नष्ट हुने धार्मिक बिश्वास रहेकोले सबै भक्तजनहरुले बडिमालिकाको पुजा आरधना गर्ने गर्छन् र घरपरिवारको सुख शान्तिको लागी शुद्ध मनले बडिमालिका माईको नाप जप्ने गर्छन् ।

 

बडिमालिका क्षेत्रको पर्यटन पर्बद्धनमा सरकारको भुमिका?

 

बडीमालिका क्षेत्रकाे पर्यटन,प्रबर्द्धन,संरक्षण तथा सम्बर्द्धन गर्न बाजुराका ९ वटै स्थानीय तहले आ-आफ्नो तहबाट पर्यटन,प्रबर्द्धन सम्बन्धी काम गर्दै आएकाे भए पनि न्याय भने पाउन सकेकाे छैन्।भाैगाेलिक विकटता,यातायातकाे असुविधा,भाैतिक पूर्वाधारकाे कमी यहाँका महत्त्वपूर्ण समस्या हुन्।

 

नेपाल सरकारले बडिमालिका क्षेत्रलाई सुरु देखि नै संरक्षित क्षेत्र बनाउने निति लिएपनि अझै कार्यान्वयनमा भने आउँन सकेकाे छैन्।सरकारले मालिका क्षेत्रको विकास र पूर्वाधार निर्माणमा पहल गर्ने हो,भने यहाँको सम्भावनालाई बिश्वसम्म चिनाउन सकिने प्रचुर सम्भावना देखिन्छ।

 

तीर्थालुको संख्या बढ्दै गएसँगै बडीमालिका क्षेत्रमा सडक,पदमार्ग, खानेपानी, शाैचालय सञ्चार, स्वास्थ्य तथा आवास  लगायतका पूर्वाधारको विकासमा ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ।व्यवस्थित पर्यटन पूर्वाधार निर्माण गर्न सकेकाे खण्डमा बडीमालिका धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा थप स्थापित हुने स्थानीय तथा पर्यटक (गाईड) तुला बडुवालकाे भनाई छ।

 

नेपाल सरकारले बडीमालिकामा ईन्टरनेट सेवा विस्तारकाे लागी काम थालेकाे छ। यस अघि संञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमलाई तत्काल बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए ।भौगोलिक विकटता र सडक नभएका कारण स्थलमार्गबाट उपकरण पुर्‍याउन कठिन भएपछि हवाई मार्ग हुदैँ हेलिकप्टर मार्फत त्रिवेणी पाटनमा सामान पुर्‍याइएको छ।

 

सामान ढुवानीकाे लागी करिब ९६ लाख रकम हेलिकप्टरलाई तिरिएकाे छ।मेला सुरु हुनभन्दा अघि नै ईन्टरनेट सञ्चालनमा ल्याउने  भनिएको छ । इन्टरनेट जडान गर्न प्राविधिक टोली समेत पुगेको छ ।नेपाल सरकारकाे तर्फबाट पहिलोपटक बडीमालिकामा याे कार्य सुरु हुनु लागेकाे हाे।बडीमालिका उच्च हिमाली क्षेत्रमा पर्ने भएकोले यहाँ ईन्टरनेटकाे सेवा-सुविधा कस्तो रहन्छ भन्ने आँकलन गर्न सकिएकाे छैन्।

 

अन्य पूर्वाधारका हिसाबमा सदियौँपछि मन्दिर संरचना नयाँ बनेका छन् । पुरातात्विक महिमा र विशेषता झल्काउन कलात्मक शैलीमा मन्दिर कुँदिएको छ ।नेपाली सेनाले करिब २ करोड बढी आन्तरिक स्रोत प्रयोग गरेर निर्माण गरेको हो ।तर घुम्न आउने पर्यटकलाई सहज पैदल मार्ग, पानी र शौचालयको अभाव,धर्मशाला र बासस्थानको कमीले यहाँ समस्या हुने गरेकाे छ।

 

यस बर्षकाे बडीमालिका यात्रा सुरक्षित र मर्यादित हुने प्रमुख जिल्ला अधिकारी डाेरेन्द्र निराैलाले बताए।उनका अनुसार,मेला सुरक्षित र व्यवस्थित गर्न सुरक्षा संयन्त्र परिचालन,मेला व्यवस्थापन,सरसफाई,विरामीहरुलाई औंषधी उपचार,अस्थायी शाैचालय र खानेपानी जस्ता आधारभूत आवश्यकता परिपूर्ति गरिने बताएका छन्।

 

साथै उनले स्वास्थ्यमा समस्या भएका व्यक्तिहरुले दर्शनकाे लागी नआई दिन हुन समेत उनले आग्रह गरे ।‘प्राकृतिक र धार्मिक महत्त्व बाेकेकाे बडीमालिकाकाे पर्यटन,प्रबर्द्धनमा यहाँका सराेकारवाला निकाय संगै संघ,प्रदेश तथा स्थानीय सरकारले ध्यान दिनु पर्छ।धार्मिक तथा ऐतिहासिक महत्त्व बाेकेका क्षेत्रहरुकाे संरक्षण,सम्बर्द्धनमा साझा सवालका साथ अघि बढेकाे खण्डमा ती क्षेत्रकाे प्रचार-प्रसार र पर्यटन,प्रबर्द्धनमा टेवा पुग्छ।’उनले भने ।

 

त्यस्तै जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम राेकायाले यस बर्षकाे मेलालाई व्यवस्थित गर्न जिल्लास्थित सराेकारवाला निकायबाट विभिन्न निर्णयहरु गरिएको जानकारी दिए।धार्मिक आस्थाकाे धराेहर बडीमालिकाकाे पर्यटन,प्रबर्द्धनमा जिल्लास्तरबाट पटकपटक संघ तथा प्रदेश सरकारलाई यहाँको सम्भावना र समस्याहरुबारे
ध्यानाकर्षण गराईँदै आएकाे बताए।

 

साथै उनले पछिल्लो समय बडीमालिकामा पर्यटककाे संख्या बढ्दै गएकाे बताउँदै,वर्तमान नेपाल सरकारका प्रधानमन्त्री बालेन्द्र शाहले दिएकाे ‘बडीमालिकाकाे बाउ’ संज्ञाले थप पर्यटककाे आँखा खुलेकाे जिकिर गरे।समन्वय प्रमुख राेकायाले बडीमालिका दर्शनले मागेकाे वर प्राप्त हुने,मनाेकांक्षा पूरा हुने र आत्मसन्तृष्टि मिल्ने भएकोले सम्पूर्ण दर्शनार्थीहरुलाई दर्शन गर्नकाे लागी आग्रह समेत गरे।

 

बडीमालिका जस्तो: दिव्य पवित्र भूमिमा अझै सरकारी ध्यान पुगेको छैन।जसले गर्दा दर्शनार्थीहरुले कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। ‘यहाँ घुम्न आउने पर्यटकले समेत तयारीका साथ आउनु पर्ने हुन्छ।बडीमालिका साच्चिकै धर्तिकाे भू-स्वर्ग हाे।जुन अदभूत र अलाैकिक छ।’

 

सुन्दर फाँटहरुकाे शहर:

 

बडीमालिकालाई फाँटैफाँटकाे शहर भन्दा पनि फरक पर्दैन्।यहाँ २२ वटा समथर हरिया पाटनहरु छन्। मनमोहक त्रिवेणी क्षेत्र,ती फाँटमाथि फुलेका रङ्गीचङ्गी फूल, विष्णुपानी, खेतीवेती,लौरी विनायक,धर्मद्वार,बडिमालिका क्षेत्रका मुख्य मनमोहक स्थल हुन्।प्राकृतिक साैन्दर्यता भरिपूर्ण यी फाँटहरुनै यहाँका मुख्य आकर्षक हुन्।

 

बडीमालिका मन्दिरमा पूजा-आजा हुने भएकोले मात्रै त्यसलाई महत्त्व दिईन्छ। पूजा हुने स्थलभन्दा अन्य क्षेत्र निकै मनमाेहक र बेजाेड छन्।यहाँको प्रर्याप्त प्रचार-प्रसार,आधारभूत पदमार्ग निर्माण तथा सुधार,र पर्यटकमैत्री वातावरण निर्माण गर्न सके बडीमालिका धार्मिक पर्यटनसंगै प्राकृति तथा साहसिक पर्यटनकाे आकर्षक गन्तव्य बन्ने देखिन्छ।

 

धार्मिक आस्थाकाे धराेहर बडीमालिकामा पुग्ने प्रकृतिलाई  नजिकबाट नियाल्नु मात्र नभई,आस्थालाई अनुभूति गर्ने माध्यम समेत हाे।जहाँ पहाडकाे उचाईसंगै विश्वासकाे गहिराई भेटिन्छ। प्रकृतिकाे साैन्दर्यसंग आध्यात्मिक शान्तिकाे अनुभूत हुन्छ। त्यसैले त,बडीमालिका धर्तिकाे स्वर्गजस्तै:साैन्दर्यभित्र लुकेकाे धार्मिक आस्था र सुन्दर फाँटहरुकाे शहर हाे।

 

हिमालकाे उचाई,छिनछिनमा बदलिने हावापानी,कुहिराेकाेलावा लस्कर,घाेडा,भेडाहरुकाे प्रकृति संगकाे माया।लाग्छ,याे भन्दा सुनाैलाे संसार अन्त कतै छैन्।धर्तिमै स्वर्गकाे झल्काे दिने बडीमालिका साँच्चिकै मनमाेहक छ।जसले मानिसका अनेकौं दु:ख,कष्ट भूलाउने गर्छ।त्यसैले घुम्ने आउँने पर्यटकले भन्छन्,‘बडीमालिका सुन्दरताकाे खानी, स्वर्गकाे टुक्रा,सुन्दरताकाे शहर,स्वर्गकी अप्सरा,जय हाे, बडीमालिका।धन्य हाे,बडीमालिका।’

प्रतिकृया दिनुहोस
SITENAME

बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

गोविन्द्र राज तिमिल्सेना,बाजुराः बाजुरामा यतिवेला असारे रोपाईँको चटारो छ।बर्षायामको समय सुरु भए पश्चात् यहाँका किसानहरु दिनरात खेतबारीको काममा

SITENAME

बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

गोविन्द्र राज तिमिल्सेना,बाजुराः हिमालले ओढेको सुन्दर हरियाली माथी यात्रा गर्नु एउटा अद्भुत र यादगार अनुभव समेत हो।जहाँ,हिमाल,रुख फाँट र बाटोहरू

SITENAME

बाजुराको रानिसैन घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग,तत्काल कारबाही नभए शसक्त आन्दोलन गर्ने चेतावनी

बाजुरा,जेठ २१ : बाजुराको हिमाली गाउँपालिका–३ स्थित रानिसैन क्षेत्रमा भएको कुटपिट, लुटपाट तथा भौतिक क्षतिको घटनामा संलग्न दोषीलाई कानुनी दायरामा